काठमाडौं– सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन विधेयक तयार गरिएको बताए ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि सांसदले विरोध नगरेको बताए । 'सामाजिक सञ्जाल विधेयक-२०८१ माथि राष्ट्रिय सभा नियमावली २०७५ को नियम ९९ बमोजिम कुनै पनि मान्य सदस्यबाट विरोधको सूचना प्राप्त हुन आएको छैन,' उनले भने । अध्यक्ष दाहालले यसलाई अगाडि बढाउन अनुमति दिएसँगै सञ्चारमन्त्री गुरुङले सभासमक्ष विधेयक पेस गरेका थिए ।
'सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भभाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न आवश्यक छ,' गुरुङले भने, 'नेपालमा सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । यसरी, सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कानुन बनाउनु अतिआवश्यक भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक सभासमक्ष प्रस्तुत गर्छु ।'
यसअघि मन्त्री गुरुङले राष्ट्रिय सभामा विधेयक दर्ता गरेयता नै यसले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना भइरहेको छ । विधेयकलाई लिएर संसद्देखि सामाजिक सञ्जालमा आलोचना भइरहेको हो ।
प्रतिनिधसभा बैठकमा बिहीबार विपक्षी दलका नेताहरूले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै सच्याउन आग्रह गरे का थिए । सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले पनि केही दिनयता ‘बोल्न दे सरकार’ अभियान चलाएर विधेयकको विरोध गर्दै आएका छन् । विधेयकमार्फत सरकारले अभिव्यक्ति स्वतन्त्रता ह्याक गर्न खोजेको उनीहरूको टिप्पणी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।