फाइल तस्बिर काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक तरिकाले गठन भएको भन्ने अध्यक्ष प्रचण्डको आरोपको खण्डन गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले संविधानको उही धाराबाट कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक हुने अनि सोही प्रक्रियाबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक भनी प्रश्न गरे ।
शर्माले भने, ‘कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने अनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो? संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई कांग्रेसलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक भयो, अनि सोही धारा को सोही उपधारा बमोजिम ओलीजीलाई बनाउँदा कसरी असंवैधानिक भयो? सायद उहाँले पछि ब्याख्या गर्नुहोला। तर उहाँको आवेगात्मक अभिव्यक्ति हो यो।
महामन्त्री शर्माले अध्यादेशको सन्दर्भमा पनि प्रचण्डदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले दोहोरो चरित्र देखाएको बताए। अघिल्लो वर्ष वैशाखमा लगानी सहजीकरण अध्यादेश प्रचण्डको नेतृत्वको सरकारले ल्याउँदा विपक्षमा रहेको कांग्रेसले विरोध नगरेको स्मरण उनले गराए।
त्यसबेला संसद अधिवेशन भन्दा ६ दिन पहिले अध्यादेश ल्याउने नयाँ र पुराना दलले नै अहिले चोर बाटोबाट अध्यादेश ल्याएको भन्नु दोहोरो चरित्र रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।