कैलाली– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघले शनिबार कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन गर्दैै उनले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधार गर्न सरकारले गम्भीर रहेको बताइन्।
उनले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मुलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाको भनाइ थियो।
राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन्।
उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।