काठमाडौं – गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन्।
नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गर्को बताएका हुन्।
सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालकाे ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकको भनाइ छ। केही दिनमा उक्त विधेयकमाथि छलफल हुने उनको विश्वास छ।
‘नागरिकतासम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ। अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ। यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छाैँ। जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनकाे काम अगाडि बढेकाे छ’, उनले भने, ‘यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेकाे छ। तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन्। बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउँछाैं। चाँडै पास गर्छाैं।’
नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तकाे कुरा सुनिश्चित गरेकाे गृहमन्त्री लेखकको भनाइ छ।
साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए। विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा उनको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।