काठमाडौं – झापामा युवतीसँग होटलमा बसेका एक युवककाे मृत्यु भएपछि प्रहरीले युवती र होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेष्ट होटल एण्ड लजमा बसेका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन् । बिहीबार राति ११ बजेतिर हल्दिबारी गाउँपालिका–१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा र उनकी साथी सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भई कन्काई नगरपालिका–७ दुर्गापुर बस्ने २३ वर्षीय मुना विक उक्त होटलमा बसेका थिए ।
राति खाना खाएर सुतेका सागर शौचालयको ढोका छेउमा लडेको अवस्थामा भेटिएका थिए । मुना र होटल सञ्चालक यामकुमारी उप्रेतीले सागरलाई उठाएर बिर्तासिटी अस्पतालमा लगिएको थियो । तर १ः३५ बजे मृत्यु भइसकेको भनेर चिकित्सकले खबर गरेका थिए । त्यसपछि युवती र सञ्चालन दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।