काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई नेपालमा दर्ताको ताकेता गरेको छ। मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ताका लागि सूचना निकालेको हो।
सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न सूचनामार्फत आग्रह गरिएको छ। यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधान अनुसार सूचीकरण गर्न आग्रह गर्दै आएको छ।
सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधान मन्त्रालयको सूचनामा उल्लेख गरिएका छन्। यस कार्यले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत पुग्ने जनाइएको छ।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’मा सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्यरूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताको गोपनीयता तथा डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधान उल्लेख छन्।
मन्त्रालयले निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सूचनमा जनाएको छ।
सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा सम्पर्क कार्यालय, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान निर्देशिकामा रहेको छ। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको छ।
सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।