काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल अहिले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।
नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन जोडेको छ। सागर पुन ३ रन र ज्ञानेन्द्र मल्ल २१ रनमा पेभेलियन फर्के। दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। नेपालको इनिङका लागि भरपर्दा ब्याट्यम्यान पारस खड्का पनि २६ रनमा आउट भएका छन्। हङकङका अइजाज खानले ३ विकेट लिइसकेका छन्।
कप्तान पारस नेपाली टिमका सबैभन्दा भरपर्दा खेलाडी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा २ शतक प्रहार गरिसकेका उनी डब्लुसिएलमा नेपालका लागि सर्वाधिक रन जोड्ने खेलाडी हुन्। पारसले अहिलेसम्म ८ खेलमा ३ सय ५२ रन जोडिसकेका छन्। उनले गत वर्ष कीर्तिपुरमा नामिबियाविरुद्ध सतक (१०३ रन) प्रहार गरेका थिए। उनले डब्लुसिएलमा तीन अर्धशतक पनि बनाइसकेका छन्।
उनको औसत रन ४४ हो भने स्ट्राइक रेट ९१.६६। डब्लुसिएलमा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पारस दोस्रो स्थानमा छन्। उनले अहिलेसम्म ११ छक्का हिर्काएका छन्। यूएईका निजाकत खानले सर्वाधिक १३ छक्का प्रहार गरेका छन्।
पारसले डब्लुसिएलमा ७ विकेट लिइसकेका छन्। उनी केन्याविरुद्ध बिरामी भएका कारण मैदान उत्रन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।