काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्।
सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूप्रति आक्रोश व्यक्त गरेका हुन्।
उनले देशलाई स्थिायित्व दिएर बलियो बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेले संकल्प गरेको बताए । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिएर प्रधानमन्त्री बन्नुको अर्थ नभएको बताए ।
प्रचण्डमाथि खनिँदै प्रधानमन्त्री ओलीले अहिले २०६४ सालको समय नभएको स्मरण गराए । उनले थपे, ‘६४ को जस्तो भोट दिनु के–के न गर्छु भन्नुभयो एक जनाले । जमाना गयो त्यो । त्यतिबेला क्याम्पमा लडाकु थिए, आतङ्क थियो, त्रास थियो । सोझा जनतालाई टाढाबाट दूरबिनले हेरेका हुन्छौँ, कहाँ भोट हाल्यो थाहा पाउँछौँ, पछि ठिक लगाउँछौँ भन्थे । उनीहरूका मान्छे मतपत्र लगाएकै ठाउँमा गएर हेर्थे । तिमी सक्दैनौँ हामी लगाइदिन्छौँ भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो, त्यो जमाना अब छैन, गयो त्यो जमाना ।’
उनले भने, ‘देश बनाउने कुरा कुनै ख्यालठट्टा होइन । मजाकको कुरा हो र ? देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने, लोकतन्त्रलाई सुदृण गर्नको लागि मिलेका हौं । आजै ढल्छ भोलि बिहान सरकार ढल्छ भन्नेर गरेको बिलौनाको कुनै अर्थ छैन ।’
प्रतिपक्षी दलहरूले दाबी गरेको जस्तो सरकार नढल्ने उनले स्पष्ट पारे। प्रधानमन्त्रीको ‘चक्लेट’ छाडेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो बलियो सरकार गठन गरेको उनको भनाई थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै उनले भने, ‘सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन। देशलाई स्थायित्व र स्थिरता दिन बनेको दुई तिहाइको सरकार हो यो। हामीले प्रधानमन्त्रीको चकलेट छाडेर यो सरकार बनाएका हौँ, त्यस्तालाई साथ लिएर प्रधानमन्त्री बन्दा देश बन्दैन भनेर।’
उनले देश लोकतान्त्रिक अभ्यास चल्ने बताउँदै सबैलाई त्यसै गरी अगाडि बढ्न आग्रह गरे । उनले एक अर्कासँग बाझेर भन्दा पनि, एक अर्कामाथि हिलो छ्यापेर भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।