काठमाडौं – माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ।
सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतकसचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो।
जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। उनका अनुसार २५,२६ र २७ संसदीय समितिको बैठक बस्नेछ।
त्यस्तै २८,२९ र ३० गते पुनः संसदको बैठक बस्नेछ। संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताए। त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिए।
उनले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ। यो महिनाको ३० गतेसम्म पाल्र्यामेण्ट चलाउँछौँ। १८ गतेबाट शुरु हुन्छ। २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरु सबै पेश हुन्छ। २५,२६ र २७ संसदीय समितिकोहरुको बैठक हुन्छ। २८,२९ र ३० गते पुनः संसद बस्छ। प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने कार्यक्रम छ।’
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताए।
उनले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताए।
उनले भने, ‘सम्माननीय सभामुखज्यूले सम्पूर्ण दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो। सबै प्रमुख सचेतकहरु त आउन सक्नुभएन। तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद् अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रुपमा छलफल भयो। १८ गते शुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेण्डर तयार गरेर सचिवालयले ल्याएको थियो। त्यसमा छलफल भयो।’
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताए। उनले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताए।
प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताए। त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।