काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
‘भोलि ११ बजे हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौं। भोलिको बैठकमा हामी के के निर्णय गर्ने भन्नेबारे पनि छलफल हुन्छ,’ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।
उनका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ।
विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउनेगरी आजको बैठकमा छलफल भएको उनले बताए।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ। उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।