रुपन्देही– बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको थुनछेक बहस सुरू भएको छ।
५ नम्बर इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो।
बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन्। अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन्।
आजको बहस लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गरेको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बुधवारदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश भएकाले उनी हिरासत बाहिरै बसेका छन्।
आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।