काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी -माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन लागेको हो।
अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो। मतदान साँझ ६ बजेसम्म हुनेछ। आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ।
३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन्। उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ।
उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन्।
खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ। नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी कायम भएको छ। एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार रहेका छन्।
त्यस्तै विभिन्न पदका उम्मेदवार निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा केही उम्मेदवार निर्विरोध भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।