काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब कुहिरोले पनि उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो। उनले उक्त प्रणालीले कम भिजिबिलिटीमा उडान गर्न सक्ने बताएका हुन्।
‘भैरहवामा ८०० भिजिविलिटी भए पनि उडान गर्न सक्ने गरी उपकरण जडान गरिएको छ। अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन। हामीले सञ्चालन गरेका र अगाडि बढाएका आयोजनाहरूका बारेमा प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु,’ पौडेलले भने।
भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत उनको भनाइ थियो।
आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे।
‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ। कमी कमजोरी भए औँल्याऊँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ। हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ,’ उनले भने, ‘त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्यो। आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।