काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत पाए देशबाट भ्रष्टाचारीको जरो नै उखालेर फ्याँकिदिने दाबी गरेका छन्।
बिहीबार बाँकेमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ३२ सिट मात्रै हुँदा सरकारको नेतृत्व गरेका बेला भ्रष्टाचारीहरुको सात्तो लिएको भन्दै प्रचण्डले देशबाट भ्रष्टाचार अन्त्य गर्नका लागि २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन अनुरोध गरेका छन्।
यस्तै उनले माओवादीमा प्रवेश गर्नेहरुको दाबी गर्दै सबैभन्दा धेरै एमाले परित्याग गरेरै आफ्नो पार्टीमा आएको बताए। यस्तै उनले आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताए।
उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं। कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरुसँग समीकरण हुँदैन।’
उनले अहिले भ्रष्टाचारीहरुको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको बताए।
उनले थपे, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ। सामाजिक न्यायको पक्षमा लड्यौं। अन्तराष्ट्रिय रुपमा नेपालको इज्जत बढायौं। हामीलाई तपाईंहरुले ०८४ मा जस्तै बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ। सामाजिक विभेदको पूरै अन्त्य गरेको छु। म ७० पुगेपनि म भ्रष्टाचार र प्रतिक्रियावादीहरुका विरुद्ध लडाइँ लड्नुछ। त्यो नेपाली जनताले जित्नुछ।’
उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।