रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ।
पीडित पक्षका वकिलहरुको बहस गरे पनि रवि पक्षका वकिलहरुको पालो भने आज आएन। मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन्।
आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे। बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन्।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।