काठमाडौं– सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर हुन रवि लामिछाने मंगलबार अपराह्न काठमाडौंबाट भैरहवा पुगेका छन्। उनी भोलि बुधबार अदालतमा उपस्थित हुनेछन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आज भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने बताइएको छ। त्यहाँ उनले कार्यकर्तासँग भेटघाटसमेत गर्ने भैरहवास्थित रास्वपाका नेताहरूले बताएका छन्।
लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। भोलि अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो। लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछाने र पूर्वडीआईजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो।
पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो। लामिछानेसँग चार करोड बढी बिगो माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।