काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन्।
शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले राजीनामा दिनु नै उपयुक्त हुने बताएका हुन्।
उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन। सरकारले त्यो अधिकार गुमाएको छ। नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ। त्यसको अर्थ हामी सरकारमा जान हतारियको भन्ने अर्थ लाग्दैन।’
विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न पनि सक्ने पनि बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।