काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ। छैटौं चरणको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा १ सय ९४ रनमा अलआउट भयो।
हङकङको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए।
हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७६ रन बनाए। उलने ११७ बलमा ९ चौका र १ छक्का हिर्काए। उनलाई सुसनले एलबिडब्लुको धरापमा पारे। अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेका तनविर अजफलाई करणले पेभेलियनको बाटो देखाए।
करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्।
यो पनि : को हुन् करणले आउट गरेका अंशुमान राथ?
सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भण्डारीबाट स्टम्प आउट गराए। उनले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहँदा पेभेलियनको बाटो देखाए।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।
नेपाली टिम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भन्डारी, करण केसी, आरिफ शेख, सुसन भारी, बसन्त रेग्मी।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।