काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकलबाट उपकुलपतिमा आवेदन दिनका लागि विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका छन्।
उपकुलपति छनोट समितिलाई पटक पटक अनुरोध गर्दाे पनि कार्यविधि परिवर्तन गर्न तयार नभएपछि बाध्य भएर अदालत जानुपरेको केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले बताए।
‘प्राध्यापक बन्नका लागि मेडिकल क्षेत्रका लागि एमडी/एमएस तथा एमडीएसगरिएको हुनुपर्ने नियम छ, केयुमा ९० प्रतिशत मेडिकल फ्याक्ल्टी रहेको अवस्था छ, कार्यविधि अनुसार ९० प्रतिशतले आवेदन दिन नपाउने हुन्छ’, उनले भने।
मेडिकल विधामा पिएचडी भन्ने नै छैन, केयुको विधानमा समेत पिएचडी भनेर नलेखिएकोले पिएचडी बाहेककाले पनि उपकुलपतिका लागि आवेदन दिन पाउनुपर्ने डा कार्कीको तर्क छ।
यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने उनी बताउँछन्। ‘योग्यताको विषयमा थप प्रष्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरशेराज शर्मालाई आग्रह गरिएपनि सुनुवाइ नभएपछि अदालत जान बाध्य भएका हौं,’उनले थपे। दुईपटक भेटेर ध्यानाकर्षण गराए पनि सम्बोधन हुन नसकेको डा कार्कीको गुनासो समेत छ।
कार्यविधि लागु भएमा मेडिकल डाक्टरहरुले उपकुलपतिका लागि कहिल्यै पनि आवेदन दिन नसक्ने अवस्था आउने उनी बताउँछन् । ‘मेडिकललाई प्रतिस्पर्धामा आउनै बञ्चित गरियो। केयूको अभिभावकबाट पनि सम्बोधन भएन । गलत नजिर बस्छ । त्यसैले अदालतबाट न्याय मिल्छ भनेर गएका हौँ,’ कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।