काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशको आर्थिक समृद्धि र उन्नतिका लागि कांग्रेसले अगुवाइ गर्नुपर्ने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस कोशी प्रदेशले आयोजना गरेको कचनकवल–सगरमाथा जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सम्बोधन गर्दै कार्कीले यस्तो बताएका हुन्।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका कार्कीले अहिलेसम्म देशमा जे जस्तो परिवर्तन भए ती सबैमा कांग्रेस सहभागी भएको बताए।
अब कांग्रेस बीपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चामात्रै गरेर पार्टी बलियो नहुने बताएका हुन्।
उनले पार्टीलाई एकबद्ध बनाएर अबको दश वर्षभित्र दक्षिण एसियाको समृद्धशाली मुलुक बनाउने दायित्व कांग्रेसको रहेको बताए।
जनतालाई सन्तुष्ट गर्नका लागि जनताको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ। अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याए। त्यसका लागि आन्तरिक एकता हुनुपर्नेमा जोड दिए।
कांग्रेसले मुलुकको आर्थिक उन्नतिको नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताए। यस्तै उनले जलवायु परिवर्तनको मुद्दालाई जोडतोडका साथ उठाउनुपर्ने पनि आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।