काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो।आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए। त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए। यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे मात्रै, केही बोलेनन्।
यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापतिज्यूले जथाभावि नगर्नुस्। मैले बोल्न पाउँछु कि पाउँदिन? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो?’
सुवालको भनाइले यादव आवेशमा आए। उनले सुवालको प्रश्नको जवाफ नदिइकन उनलाई थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने?’ सुवालले निरंकुश ढंगले बैठक नचलाउन यादवलाई चेतावनी दिए।
‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस्। जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ?’ सुवाल चर्किए ।
उनले थपे, ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने?’
त्यसपछि यादव जुरुक्कै आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नुहुन्छ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ।’ यति भनेर भुट्भुटिँदै निस्किए सुवाल।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए थियो।
यसअघि माओवादी सांसद सुदन किरातीसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।