काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले २०८७ सालमा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
झापाको कचनकवलमा बुधबार आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियानलाई सम्बोधन गर्दै महामन्त्री शर्माले २०८७ मा मात्र संविधान संशोधन गर्ने कुरा वर्तमान गठबन्धन गर्दा गरिएको सात बुँदे सहमतिमा कतै उल्लेख नगरिएको भन्दै आपत्ति प्रकट गरेका हुन्।
उनले भने, ‘संविधान संशोधन गर्नु नै छ। तर, २०८७ मा मात्र संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने। पाँच बर्षसम्म टिक्ने स्थिर सरकार निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ छ।
शर्माले भने, ‘संविधान संशोधनबारे केही बोल्न र गर्नुपरे प्रधानमन्त्रीलाई मात्र अधिकार छैन। कुन विषय र कहिले संशोधन गर्ने भन्ने कुरा गठबन्धनमा रहेका दलका नेतृत्वले सल्लाह गरेर सहमति गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।