काठमाडौं– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ। सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की परेको हो।
‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, थानीले विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गरे। थानीले यसो भनेपछि सभापति खतिवडाले उनलाई रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भनेर जवाफ दिए।
त्यसपछि सांसद थानी आक्रोशित बने, उनले भने, ‘समितिमा तपाईं नै बोल्नुस्। ओभरटेक गर्ने ? म बोल्दिनँ’ उनले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न स्मरण गराए। ‘म पनि त्यो चियरमा बसेर आएको हो’, थानीको भनाइ थियो।
त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिए। तर उनी बोल्न चाहेनन्। त्यसपछि एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गरे।
‘यस्ता विषयमा अन्यथा गर्नु हुँदैन। सभापतिले पनि कुराको शृङ्खला टुट्ने गरी कुरा काट्दा उत्तेजना हुन्छ। नामै राम्रो, हृदयमा राम भएको’, श्रेष्ठले यसरी बैठकको माहौल सामान्यीकरणतर्फ फर्काए।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाएको हो।
साथै सांसद राजेन्द्र राईले पनि सभापति खतिवडामाथि प्रश्न उठाएका छन्। उनले भने,‘सभापतिज्यू तपाईंको स्टान्ड खै ? कहाँ छ, छैन। तपाईंको सचिवालयले वर्क आउट खै ? तपाईं यसलाई सुधार गर्न नसके फेल हुनुहुन्छ। तपाईं फेल हुँदा हामी फेल। सचिवालयको वर्क आउट जिरो छ।’
सांसद राईले उजुरीका विषयमा पनि सचिवालयमा गृहकार्य गर्न सभापति खतिवडालाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।