काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन्।
रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताएका हुन्।
उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गरेका छन्।
“सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ। जनताको हित हुने योजनाहरू बनाउनुस्। त्यसमा हाम्रो सहयोग रहन्छ। नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला”, उनले भने।
कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।