काठमाडौं– नेकपा (एमाले) बाट निकालिएका भीम रावलले विकल्पबाट हिँड्न बाध्य भएको बताएका छन्।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।
'देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु,' उनले भने।
रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।