काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु गरेका छन्। अहिले उनले ओलीले आफूलाई पूर्वाग्रही शैलीमा ओलीले आफूलाई हटाएको भन्दै आक्रोश पोखिरहेका छन्।
साथै उनले ओलीलाई आफ्नो विगत सम्झिन पनि आग्रह गरेका छन्। ‘मलाई समानान्तर कमिटीहरु चलायो भनेर आरोप लगाउने उहाँले हिजो पार्टी र नेतृत्वविरुद्ध समानान्तर कमिटी बनाउँदा कुनै स्पष्टीकरण आयो कि आएन याद गर्नुपर्छ कि पर्दैन‘, उनले सोधे।
यस्तै रावलले पार्टी सुधारका लागि कुनै सुझाव र आलोचना नै गर्न नपाउने भए जबज, मार्क्सवाद, लेनिनवाद किन राखिएको भन्दै प्रश्नसमेत गरेका छन्।
यस्तो छ उनको कविता:
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।