काठमाडौं– नेकपा एमालेबाट निकालिएका भीम रावलले आन्तरिक भेटघाट बढाएका छन्। नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएका हुन्।
रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन्। दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन्।
दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ।’
रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्। गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।