कैलाली– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
आज धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरुआती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका छन्।
मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएको समेत बताएका छन्। “पत्रकार महासङ्घले पेसागत हकहितबाहेक व्यावसायिक र मर्यादित पत्रकारिताका लागिसमेत योगदान गर्दै आएको छ। त्यसैले पत्रकारिता क्षेत्र बलियो भएमा लोकतन्त्र पनि बलियो हुन्छ भन्ने मेरो बुझाइ छ। यसकारण मैले महासङ्घलाई एउटा बलियो नागरिक संस्थाका रूपमा बुझेको छु”, उनले भने।
मन्त्री राणाले नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्दै त्यसको सही प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। “आजभोलि सोसल मिडियाको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा के कुरालाई महत्व दिने भन्ने सन्दर्भमा हामी सचेत हुनुपर्छ। लोकतन्त्र, समाजवाद, राष्ट्रियतालाई बलियो बनाउने कुरामा पत्रकारिता क्षेत्र र सबैले निरन्तर प्रयास गरिरहन आवश्यक छ”, उनको भनाइ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।