काठमाडौं– नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई समय थप गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियान सम्पन्न हुन नसकेको हो ।
ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघमा समापन गर्ने गरि समयावधि थप गरिएको उनको भनाई छ ।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीहरूलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशनसमेत दिइएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन २०८१ असोज ७ मा प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पौष १६ मा समापन हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।