काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन्।
सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन्।
उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागे पनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य भएको बताए। उनले सभापति शेरबहादुर देउवाले सबै नेताहरूको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको बताए।
सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्ने जिकिर गरे। उनले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए।
उनले भने, ‘अहिले पार्टीमा वास्तवमा विचलन छ। स्वीकार्नुपर्छ। सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारो पर्छ।’
नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढेको उनले बताए। अग्रजहरुले देखाएको बाटोमा नेपाली कांग्रेस हिँड्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।