काठमाडौं– सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद स्वत निलम्बन हुने भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुनेछ। सम्पत्ति शुद्धीकरण ऐन २०६४ ले अभियोग पत्र दर्ता भएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म पद स्वत निलम्बन हुने व्यवस्था गरेको छ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनको दफा २७ मा भनिएको छ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।
यता लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ।
संसद सचिवालयका अनुसार आइतबार अबेला निलम्बन सिफारिशको चिठी आइपुगेको ह। समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।