काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं अधिवेशनमा सहभागीहरुबाट करिब ३ करोडभन्दा बढी रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
अधिवेशनमा सहभागी हुन नेपालमा रहेका प्रतिनिधिले १० हजार रुपैयाँ र विदेशबाट सहभागी नेपालीहरुले २० हजार रुपैयाँ तिर्नुपर्नेछ। विदेशमा रहेका प्रतिनिधिहरुबाट मात्रै ३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको एनआरएनकी प्रवक्ता रञ्जु थापा वाग्लेले नेपाल लाइभलाई बताइन्।
नेतृत्व छनोटका लागि ७७ देशबाट २२ सय प्रतिनिधिले सहभागिताका लागि इच्छा राखेका छन्। तर महाधिवेशनमा विदेशबाट १५ सय प्रतिनिधि सहभागी हुन सक्ने प्रवक्ता वाग्लेले बताइन्।
पैसा तिरेका सहभागीहरुलाई एनआरएनले चार दिनसम्म होटल हायातमा बिहान र बेलुकाको खानाको व्यवस्था गरेको छ। ‘प्रतिनिधिहरुको खानापिन र अन्य क्षेत्रमा सहभागीहरुबाट संकलित रकम खर्च हुनेछ,’ प्रवक्ता वाग्लेले भनिन्।
टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको भवनमा प्रतिनिधिहरुको रजिस्ट्रेशन आज हुँदैछ। अधिवेशन शनिबारबाट काठमाडौंमा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।