काठमाडौं– नेकपा माओवादी केन्द्रले समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुविकरणमा जोड दिने भएको छ।
मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकको निर्णयसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टीपंक्तिमा पठाएको सर्कुलरमा मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुविकरण आवश्यक भएको निष्कर्ष निकालेको हो।
सर्कुलरमा भनिएको छ, ‘विगतमा एकिकरण र समायोजन र पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखि एकिकरण र समायोजन र प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ।’
माओवादीले पछिल्लो समय माओवादी घटकसँगको एकतालाई प्राथमिकता राखेको छ। माओवादीसँग एकता गर्नको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ने्कपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा तयार छन्।
पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले त्यसबारे निर्णय गर्ने माओवादीको तयारी छ। त्यसबाहेक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, प्रभु साह नेतृत्वका आमजनता पार्टीलगायत दलसँग पनि एकता गर्ने प्रचण्डको दाउ छ। तर, प्रचण्डले जोडबल गरेपनि तत्काल विप्लव नेतृत्वको नेकपा र नेसपाबाहेक अन्य दलसँग एकता हुने सम्भावना देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।