विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज उद्घाटन गर्दै उनले उक्त जानकारी दिएका हुन्।
सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए। राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाएका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताए। आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताए। उनले स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिए। साथै उनले जनतालाई केन्द्रविन्दुमा राखेर कलम चलाउन आग्रह गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।