काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले यो पटकको भ्रमणमा सिन्को पनि नभाँचेको बताएका छन्।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका हुन्।
‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन। तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’प्रचण्डले भने।
आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको पनि जिकिर गरेका छन्।
‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो। मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो,’ प्रचण्डले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए। मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ। मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ। ती सबै गतसाल गरिएका सहमति समझदारी हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।