काठमाडौं– सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछाने माथि ४ दिन म्याद थप भएको बताए। यद्यपि सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो।
सुरुमा उनी माथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो। पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ।
लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।