काठमाडौं– जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।
जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो। रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गङ्गासागर पुगेका थिए। मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ। गङ्गासागरमा उत्तराधिकारी महन्तदासले माटो निकालेका थिए।
महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए। मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ। जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गङ्गासागर पुग्ने गर्छ। वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ।
जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ। शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ। जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचाँै दिन मटकोर कार्यक्रम भएको हो। शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।