काठमाडौं– नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन्।
आइतबार भएको उपचुनावमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए। उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे।
यस्तै, नेकपा (एमाले) का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेकपा (एकीकृत समाजवादी) का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरे।
त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक/एक मत पाए। आइतबार भएको उपचुनावमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय ५५ ले मतदान गरेका थिए। जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अघिल्लो चुनावमा यो वडामा नेपाली कांग्रेस विजयी भएका थिए। त्यसबेला कांग्रेसका उम्मेदवार बनेका तिलकबहादुर लामाले ८ सय ८८ मतका साथ निर्वाचित हुँदा माओवादी केन्द्रका घिमिरेले ७३४ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।