काठमाडौं– काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबारदेखि नै बयान लिने तयारी गरिएको छ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो। उनीमाथि लागेको आरोपको अनुसन्धान शुक्रबारदेखि नै सुरू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
'सरकारी वकिलको कार्यालय खुलेपछि आजैदेखि उहाँसँग बयान सुरू हुन्छ,' उनले भने। लामिछानेसँग सरकारी वकिल र प्रहरीको अनुसन्धान अधिकृतल बयान लिनेछ।
स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।
सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।
२०७८ साउन ४ मा सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ।
जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा पनि ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको थियो। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।