काठमाडौं– नेपाली कांग्रेस स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पंक्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर पठाएको छ। महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन हुने स्थानीय तहमा नेता कार्यकर्तालाई मिसन मंसिर १६ मा केन्द्रित हुन निर्देशन दिएका हुन्।
सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भएपनि सरकारमा सहकार्य मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी सबै प्रष्ट छौं। आपसी एकता, विश्वास र व्यवस्थित कार्ययोजनाका साथ हामीले परिणाम हासिल गर्नुछ।’
चुनावी प्रतिस्पर्धाका बीच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ।
सबै नेता कार्यकर्तालाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै गत निर्वाचनमापार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका वा विरुद्ध रहेकाहरुलाई उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाको आधारमा कारवाही फुकुवा, सदस्यता नविकरण र जिम्मेवारी प्रदान गर्ने पार्टीको केन्द्रीय नीति रहेको पनि उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।