काठमाडौं– सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बिशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।
त्यस्तै, बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्वर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ भने स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिव १ अर्व ७६ करोड ९७ लाख रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए।
त्यस्तै, बैठकले कपिलवस्तु निवासी पूर्ण बहादुर नेपालीलाई श्रीलंकाको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।