काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले पार्टीविरुद्ध भ्रम फैलाए पनि जनताले त्यस्ता कुराको विश्वास नगर्ने बताएका छन्।
आज दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले केही मानिसले एमालेलाई तर्साउन खोजे पनि एमाले कसैले तर्साउँदैमा तर्सिने पार्टी नभएको बताएका हुन्।
एमाले हात्तिको बथान भएको उनको टिप्पणी छ। उनले भने, ‘अहिले केही मानिसहरुले नाङ्लो ठटाएर हात्ति तर्साउने काम गरिरहेका छन्। तर एमाले हात्तिको बथान हो। हात्तिको बथानमा नाङ्लो ठटाएर तर्सिने पार्टी होइन।’
यस्तै उनले विगत केही समयदेखि एमालेमाथि लागेका आरोपहरु खण्ठन र चर्चा गर्नका लागिसमेत लायकका नभएको टिप्पणी गरेका छन्। त्यस्ता आरोपहरु एकछिनका लागि युट्युबमा कन्टेन्ट भए पनि भ्रम के हो भन्ने जनताले बुझ्ने विश्वास व्यक्त गरे।
आफ्नो आगामी चीन भ्रमणका सन्दर्भमा पनि उनले जवाफ दिएका छन्। उनले आफू चीन घुम्नका लागि नभएर देश हीत र भलाइका लागि जान लागेको बताएका छन्। साथै एमालेसँग अहिले देशलाई अघि बढाउने सही नीति र योजनासमेत रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।