काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताएका छन्।
एमालेसम्बद्ध काठमाडौँ उपत्यकास्तरीय पार्टी कमिटीहरूको संयुक्त आयोजनामा हुन गइरहेको जागरणसभासहित समसामयिक राजनीतिक विषयमा सम्पादकहरूसँगको अन्तरसम्बादमा नेता ज्ञवालीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई सो कार्यक्रममा सहभागी हुन अनुरोध गरे।
सम्पादकहरूको जिज्ञासामा नेता ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबैक्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताए।
ज्ञवालीले नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको यस अवधिमा देखिएका कमीकमजोरीलाई शुक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला भएका सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।