काठमाडौं– जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान गएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बङ्गादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच आज भएको द्धपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो।
नेपालले बङ्गलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनिकणको सन्दर्भमा महत्वपूर्ण रहेको बताए। उनका अनुसार नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण हुने भएकाले, बङ्गलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्वपूर्ण रहेको बताए।
जलवायु परिवर्तन वार्तामा तीन देश (बङ्गलादेश, भुटान र नेपाल)बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरेका छन्।
भेटमा बङ्गलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरे। “यसले बङ्गलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ। जलवायु परिवर्तन वार्तामा तथा साझा प्राथमिकतामा सहकार्य जरुरी छ,” उनले भने, “नेपाल, भूटान र बङ्गलादेशबीच समन्वयको आवश्यकता छ। हाम्रा साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने छ।”
दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ। बङ्गलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बङ्गलादेशमा आयोजना गर्ने सहमति भएको छ। बैठकको समय भने पछि तय गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।