धनगढी– कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा सत्तागठबन्धन दलबीच नै भिड्न्त हुने भएको छ। मंसिर १६ गते हुने जिसस प्रमुखको निर्वाचनका लागि सत्तागठबन्धन दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीबिच भिडन्त हुने भएको हो।
आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी चौधरी (भुल) र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमति डंगोरा थारुले उम्मेदवारी दर्ता गराएकी छिन्।
प्रदेश निर्वाचन कार्यालयमा पूर्व निर्धारित कार्यक्रम अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उन्मुक्तिले टिकापुर नगरपालिका वडा नम्बर ४ का महिला वडा सदस्य एवम कार्यपालिका सदस्य थारुले उम्मेदवारी दर्ता गराएकी थिइन् भने नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसकी टिकाकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
रुपमति सुदूरपश्चिम प्रदेश सभा सदस्य कैलाश चौधरी, खुसी राम डगौरा थारू, भजनी नगरपालिका प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरूवा, जोशीपूर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया लगायत नेताहरुसंग उम्मेदवारी दर्ता गराउन पुगेकी थिइन्। सो अवसरमा उनले आफुलाई नेकपा माओवादी केन्द्रको समर्थन रहने प्रतिक्रिया दिएकी थिइन्। उनले माओवादीसंग सहमतिका लागि छलफल जारी रहेको बताइन्।
जोशीपूर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया प्रस्तावक थिइन भने भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा समर्थक सहित रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन्।
यता, सत्तागठबन्धन दलमै रहेको नेपाली काँग्रेसकी टिकालाई धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना प्रस्तावक रहेकी थिइन भने कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी समर्थक रहेका छन्।
जिल्ला समन्वय समितिका लागि जिल्लामा उन्मुक्तिका सात, नेकपा माओवादी केन्द्रका तीन, नेपाली काँग्रेसका आठ, नेकपा एमालेका पाँच, नेकपा समाजवादी पार्टी एक र स्वतन्त्रका एक गरि २५ जना मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।