काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले कांग्रेस-एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले उक्त दाबी गरेका हुन्।
प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको उनको प्रष्टोक्ति छ। नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको पोखरेलको जिकिर थियो।
उनले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ। उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ। त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन्। र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ। त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं। जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ। ’
महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ कांग्रेस-एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको बताए। यो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने पनि उनले प्रष्ट्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।