काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री आरजु राणा देउवा गृहजिल्ला आउँदा फूलमालासहित स्वागत गर्न उर्दी जारी गरेको छ।
पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसदसमेत रहेकी राणा शुक्रबार अपराह्न डडेल्धुरा पुग्ने कार्यक्रम छ।
पार्टी सभापति भीमबहादुर साउँदले बुधबार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन्।
परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।
सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन्।
साथै क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरू लगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन सभापति साउँदको उर्दी छ।
सभापति साउँदले महासमिति सदस्यदेखि क्रियाशील सदस्य र उद्योगी व्यापारीलाई पनि परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित हुन भनेपछि कांग्रेसकै केही नेता कार्यकर्ताहरूले भने असन्तुष्टि जनाएका छन्।
सभापति शेरबहादुर देउवा पनि केही दिनदेखि डडेल्धुरामै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।