काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिन भित्र विद्युत बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्। कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर्खिने बताएका हुन्।
प्राधिकरणको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘१५ दिन भित्र उहाँहरुले बिलको रकम तिर्नुहुनेछ। यदि तिर्नुभएन भने उद्योगको लाइन काट्न बाध्य हुनेछौँ।’
सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य भएको बताउँदै उनले भने, ‘हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ। अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ।’
मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनले बताए।
पत्रकार सम्मेलनमा उनले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताए। प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ।
उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको भनाइ छ।
‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याकमेल गर्नुहुन्छ। सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नुहुन्छ ‘, घिसिङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।