काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् ।
भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले बताए । उनले भने, ‘अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ ।’
उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’
अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहोर्याए ।
भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।