काठमाडौं – एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन।
जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो। केही दिनअघि उक्त जग्गा नामसारी भएको हो।
गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए। घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन्।
भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबार दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।